New App Notice!

सलह (Locust): करिब ६० वर्षपछि नेपालमा आउन सक्ने


अफ्रिकाको रैथाने ‘सलह’ इरान, पाकिस्तान, भारत हुँदै नेपालतिर आउन लागेको छ। भारतको गुजरात र राजस्थानमा सलह देखिसकेको छ। भारतको उत्तरी क्षेत्रमा सलह फैलिएमा नेपालको पश्चिमी भाग वा पश्चिम दक्षिण भागबाट छिर्न सक्ने सम्भावना धेरै नै देखिन्छ।

सन् १९६० को दशकको सुरुतिर सलहले काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, काभ्रेलगायतका जिल्लामा सबैखाले बाली सखाप पारी ठुलो खाद्य संकट निम्त्याएको थियो। घाम नै छलिनेगरी उडेर आउने सलहका झुण्ड जहाँ बस्छ त्यहाँको हरियाली केही बेरमै उजाड बन्छ। १ वर्ग किलोमिटरको सलहको झुण्डले १ दिनमा ३५,००० मान्छेले बराबरको खाना खान्छ।

नेपालको कृषिलाई कोरोनाले ठुलो प्रभाव पार्ने आकलन हुँदैगर्दा अमेरिकी फौजी किराभन्दा खतरनाक सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको कृषि खेती प्रणालीलाई चौपट पार्न सक्ने देखिएको छ।

सलह किराको परिचय
____________________
सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो। यसको सिङ छोटो हुन्छ र पछाडिका खुट्टा दह्रा र मोटा हुन्छन्। यो किरा (लाखौँ-करोडौँको) समुहमा बस्न मन पराउँछ र न्यानो हावापानी मन पराउँछ। सामान्यतया सलहको प्रकोप असार महिनादेखि असोजसम्म देखिन्छ र मनसुन सुरु भएको २-३ हप्तासम्म यसको प्रजनन् क्षमता बढी हुन्छ।

यसले जमिनको तल बालुवामा ६०-८० वटाको समुहमा अण्डा पार्दछ र यसले जीवनभरमा ३ पटकसम्म अण्डा पारेको रेकर्ड छ। १० देखि ६५ दिनमा अण्डाबाट बच्चा बन्छ र यी बच्चाहरु १ देखि ३ महिनामा पूर्ण वयस्क बन्दछन्। वयस्क ४-५ महिनासम्म बाँच्छ। वयस्क किरा लामो समयसम्म हावामा उड्न सक्दछ र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्दछ।

सलह किराको नियन्त्रण
____________________
यो सलह धेरै संख्यामा र ठुलो क्षेत्रलाई ढाकेर बस्ने भएकाले यसको नियन्त्रणको पूर्ण विधि पत्ता लागेको छैन। तर, तुरुन्तै यसलाई नियन्त्रण गर्नका लागि सुरक्षित विषादीको प्रयोग नै उचित मानिएको छ।

सलहको नियन्त्रणका केही विधिहरुः
१. सलहको झुण्डलाई ठुलो आगो वा आवाजको प्रयोगले भगाउन सकिन्छ।
२. मौरी, बारुलो, चराजस्ता सलहका प्राकृतिक दुश्मनको प्रयोग गर्ने।
३. मालाथिएन, फेनिट्रोथिएनजस्ता विषादीहरु सलहको सम्भावित आगमन अगाडि नै मूल्यांकन गरी छर्ने।
४. जैविक कीटनाशक जस्तै Metarhizium acridum नामक ढुसी सलह नियन्त्रणमा एकदम प्रभावकारी हुन्छ तर नेपालमा अहिलेको अवस्थामा यसको प्रयोग प्राविधिक रुपमा असम्भव जस्तै छ।
Previous Post Next Post